'यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्स २०१८' आयोजना हुन


रेडियो उपहार, काठमाडौं । २८ मे, २०१८ । नेपाली ख्रीष्टियान काउन्सिल यूनाइटेड किंगडम (एनसिसियूके)को आयोजनामा लन्डन अस्ट्रासटस्थित अम्पाएर बेनक्यूट हलमा एक दिने ‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्स २०१८’ आयोजना हुने भएको छ । सम्मेलन यही जुन २ तारिख शनिबार विहान दश बजे संचालन हुने सम्मेलनका संयोजक रेभरेण्ड दोर्जे तिमोथी लामाले रेडियो उपहारलाई बताउँनु भयो ।


उक्त सम्मेलनका संयोजक रेभरेण्ड दोर्जे तिमोथी लामाका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनमा यूनाइटेड किंगडमभरि रहेका एनसिसियूके लगायत अन्य नेपालीभाषी चर्चहरुबाट उल्लेख्यरुपमा यूवायूवतीहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ । 
सम्मेलनमा एनसीसीयूकेका पदाधीकारीहरु र साथै त्यहाँ भएका विभिन्न नेपालीभाषी चर्चका पास्टरअगुवाहरुको पनि सहभागीता रहने कुरा सम्मेलनका संयोजक रेभरेण्ड तिमोथी लामाले रेडियो उपहारलाई बताउँनु भएको छ ।


उक्त सम्मेलनका लागि नेपालबाट लोकप्रिय यूवा गायक एड्रिन देवान यही सोमबार यूके पुगिसक्नु भएको छ । सम्मेलनमा गायक देवानले आराधनाको वारेमा सिकाउनुका साथै र उहाँले एकल गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि एनसीसीयूकेका क्वायर झुण्डले आराधनामा अगुवाइ गर्ने छन् ।
श्रोतका अनुसार एनसिसियूकेको वार्षिक कार्यक्रम मध्येमा यो सम्मेलन पनि पर्ने भएकोले यो एक दिने सम्मेलनलाई त्यहाँका चर्चहरुले निकै चाँसोका साथ प्रतिक्षा गरिरहेका छन् ।

सम्मेलनको लागि नेपालबाट गायक एड्रिन देवान यूके पुगिसके पछि एनसीसीयूकेका पदाधीकारीहरु र यस अन्तर्गतका चर्चका पास्टरअगुवा साथै यूवायूवतीहरु निकै हौसिएका छन् । रेभरेण्ड दोर्जे तिमोथी लामा एनसीसीयूके यूवा विभागका प्रमुख हुनुहुन्छ ।
एनसीसीयूके यूकेमा भएका नेपालीभाषी चर्चहरुको साझा संगठन हो । जसमा त्याहाँका दुई दर्जन वढि चर्चहरु आबद्ध छन् ।