साढे ३ महिना पछि पास्टर केशव आचार्य रिहा

रेडियो उपहार । १६ असार ०७७ । काठमाडौं । प्रार्थना गरेकै कारण चैत्र १० गतेदेखि प्रहरी हिरासतमा रहनु भएका पोखराका पास्टर केशव आचार्य अन्ततः जिल्ला अदालत डोल्पाबाट आज अपराह्न रिहाइ हुनु भएको छ । 
आस्थाका बन्दी पास्टर केशव आचार्यलाई जिल्ला अदालत डोल्पाले ३ लाख धरौटीमा रिहाइ गरेको कुरा नेपाल ख्रीष्टिय समाज र राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले जनाएको छ ।
पास्टर आचार्यलाई जिल्ला प्रहरी कार्यालय कास्कीले गत चैत्र १० गते पावर हाउसस्थित आफ्नै घरबाट धर्म प्रचारको झुठो मुद्दामा अपहरण शैलीमा पक्राउ गरि शुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीमा र पछि जिल्ला कारागार कास्कीमा हिरासतमा राखेको थियो ।
पछिल्लो समय पास्टर आचार्य जिल्ला अदालत कास्कीमा ५ लाख धरौटीमा रिहा भए पनि जिल्ला प्रहरी कास्कीले उहाँलाई जिल्ला अदालत परिसरबाट पुनः पक्राउ गरि त्यही मुद्दामा जिल्ला प्रहरी कार्यालय डोल्पामा स्थानन्तरण गरेको थियो ।
हिजो असार १५ गते राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले काठमाडौंमा पे्रस मिटको आयोजना गरि पास्टर आचार्यको रिहाई बारे सार्वजनिक गरेको थियो । महासंघका अध्यक्ष सीवी गहतराजले पास्टर आचार्यको रिहा सम्वन्धमा विभिन्न तवरबाट पहल गर्ने सम्पूर्ण इसाई संघसंस्था,मानव अधिकारवादी संस्थाहरु तथा देश विदेशका नेपालीभाषी चर्चहरुलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।
श्रोतका अनुसार नेपाल ख्रीष्टिय समाजको संयोजनमा हिजै जिल्ला अदालत डोल्पामा ३ लाख रुपैयाँ धरौटी वुझाएपछि आज अपराह्न पास्टर आचार्य रिहाइ हुनु भएको कुरा एनसीएसका पूर्व अध्यक्ष वर्णवास श्रेष्ठले बताउनु भयो ।